Breaking News
Loading...
Monday, December 30, 2013

Info Post
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि शिक्षक सेवा आयोगले शिक्षकको पदपूर्तिका लागि भएको खुला प्रतियोगितात्मक परीक्षाको अन्तर्वार्ताका कार्यक्रम स्थगित भएपछि परीक्षार्थी अन्योलमा परेका छन् । लिखित परीक्षामा सहभागी भई उत्तीर्ण भएका उम्मेदवारले अन्तर्वार्ताको तयारी गरिरहेका बेला यही पुस ११ गतेदेखि सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट माध्यमिक तहका शिक्षक पदपूर्तिका लागि अन्तर्वार्ताको समय निर्धारण गरिएको थियो । तर एकाएक अन्तर्वार्ता रोकिएको र अर्काे मिति समेत तय नहुँदा परीक्षार्थीहरु अन्योलमा परेका हुन् । लिखित परीक्षाको नतिजामा सामाजिक विषयतर्फ माध्यमिक शिक्षकमा उत्तीर्ण हुनुभएका वीरगन्जका सीता देवकोटा अब कहिले अन्तर्वार्ता होला भनेर सञ्चारमाध्यमका समाचार र शिक्षक सेवा आयोगका सूचना पर्खेर बसेको बताउनुहुन्छ । उहाँको अन्तर्वार्ता यही पुस १७ गते मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौँडामा तोकिएको थियो । यता शिक्षक सेवा आयोगले अख्तियारको निर्देशनका कारण हाललाई अन्तर्वार्ता रोकिएको भनी औपचारिकरुपमा सोमबार मात्रै गोरखापत्रमा सूचना प्रकाशन गरेको छ । अख्तियारले छानबिन गरिरहेकाले अब कहिलेदेखि अन्तर्वार्ता हुन्छ भन्नेबारेमा शिक्षक सेवा आयोग पनि स्पष्ट छैन । लिखित परीक्षाको नतिजा प्रकाशनमा अनियमितता भएको उजुरी परेका आधारमा अख्तियारले अन्तर्वार्ता रोक्न बुधबार निर्देशन दिएको थियो । एकाएक अन्तर्वार्ता रोकिएपछि विभिन्न क्षेत्रीय शिक्षा निर्देशनालयमा परीक्षा गराउन खटिएका कर्मचारीहरु काठमाडौँ फर्केका छन् । शिक्षक सेवा आयोगका उपसचिव नारायण ढुङ्गानाले जानकारी अर्काे निर्णय वा सूचना नआउन्जेलसम्म प्रतीक्षामा रहन शिक्षकका प्रतिस्पर्धी उम्मेदवारलाई आग्रह गर्नुभयो । कतिपय शिक्षक सङ्घ÷सङ्गठनले परीक्षामा हालसम्म धाँधली भएको नपाइएकाले कुनै खास जिल्ला वा परीक्षार्थीको उजुरीका आधारमा सबै ठाउँमा अन्तर्वार्ता रोक्का नगर्न अख्तियारलाई आग्रह गरेको भए पनि त्यसको सुनुवाइ नभएको गुनासो गरेका छन् । अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष लालबहादुर बिसीले कुनै जिल्ला विशेषमा उजुरी परेका आधारमा देशभरिकै अन्तर्वार्ताका कार्यक्रम रोकिँदा १७ वर्ष पछि खुला भएको शिक्षकको पदपूर्ति कार्य अवरुद्ध भएको बताउनुभयो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका महासचिव लक्ष्मण शर्माले पनि अख्तियारको निर्देशनका नाममा सेवा आयोगको अन्तर्वार्ता रोकिएकामा आफूहरु आश्चर्यमा परेको बताउनुभयो । सेवा आयोगले प्राथमिक तहको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरेको छैन । - See more at: http://www.ratopati.com/2013/12/31/101438.html#sthash.hDQjNmKl.dpuf

0 comments: