Breaking News
Loading...
Thursday, December 12, 2013

Info Post
२०१० सालको वैशाख २४ गते बुधबार अर्थात् १९५३ मइ ६ तारिखमा भारतका महाकवि रवीन्द्रनाथ ठाकुरको त्रियानब्बेऔँ जयन्तीका अवसरमा  ‘आजकल’ साहित्यिक हिन्दी मासिक पत्रिकाको कविता अङ्क ‘विश्वदर्शन’ प्रकाशित भएको थियो । त्यसै अङ्कमा महापण्डित राहुल साङ्कृत्यायनले ‘नेपाली महाकवि देवकोटा’ शीर्षकको लेख लेखे । 
 
त्यसैले, देवकोटालाई ईश्वर बरालपछि ‘महाकवि’को पगरी दिने काम विदेशबाट महापण्डित राहुल साङ्कृत्यायनले नै गरे । वास्तवमा भारतीय साहित्यका सर्वमान्य व्यक्तित्व महापण्डित साङ्कृत्यायन नै प्रथम विदेशी व्यक्तित्व थिए जसले देवकोटालाई अन्तर्राष्ट्रिय स्तरको सम्मान गरेर नेपाली साहित्यको समेत श्रीवृद्धिमा महŒवपूर्ण योगदान पु¥याएका थिए । 
 
‘आजकल’ पत्रिका देवकोटाका हात पार्ने काम जनकलाल शर्माको भयो । महापण्डित राहुल साङ्कृत्यायनले त्यही पत्रिकामा देवकोटालाई राँचीको पागलखानामा बसेको भनेर लेखेको बेहोरा पढ्दै गएपछि देवकोटा रनाहामा परे ।
 
त्यस बेला उनले आफूले भान्जा भन्ने गरेका जनकलाल शर्मामाथि नै त्योे आक्रोश पोखेका थिए । किनभने त्यस बखत उनको छेउमा एकातिर केवल शर्मा नै थिए र अर्कातिर आपूm पागलखानामा पुगेको कुरा शर्माबाट नै राहुल साङ्कृत्यायनको जानकारीमा पुगेको हुनुपर्छ भन्ने देवकोटाको ठम्याइ पनि थियो । 
 
त्यति बेलाको देवकोटाको आक्रोश बेजोडको थियो । उनको आक्रोश जनकलाल शर्मालाई पनि थाहा थियो । किनभने उनी रिसाए भने थरथरी काम्न थाल्थे । उनी रिसाउँदा उनका आँखा र कान राता हुन्थे र नाकको टुप्पामा पसिना आउँथ्यो । त्यति बेला उनका गाला पनि राताराता हुन्थे । उनी त्यस मोडमा आएपछि नजिक बसेका मान्छेले डराउनुपथ्र्यो । त्यस घडीको प्रसङ्गमा शर्माले लेखेका पनि छन् “मानिस त सनकी नै हुन् । आज के काण्ड गर्ने हुन् !”
 
राहुलले लेखेको देवकोटाका विषयको लेख पढेको राति देवकोटाले पनि ‘पागल’ कविता लेखे । त्यस कवितामा उनले जनकलाल शर्मालाई ‘तिम्रा’ इङ्गित गरेर “तिम्रा महापण्डित राहुल मेरा मूर्ख” लेखेका थिए । तर शर्माले देवकोटालाई फकाएर त्यसै बेला ‘राहुल’ भन्ने शब्द झिक्न लगाएका थिए । 
 
देवकोटाले आफ्नो जीवनसँग साक्षात्कार गरेर ‘पागल’ लेखे । उनले आपूmप्रति भएको अन्याय खप्न नसकेर ‘पागल’ लेखे । अनि उनले आफ्नो असामान्य अवस्थालाई छर्लङ्ग पारेर पनि ‘पागल’ लेखे । मान्छेहरूको मिचाहा प्रवृत्तिले उनलाई कुन धरातलमा राखेको थियो; उनले त्यो सबै बेहोरालाई पनि सकेसम्म ‘पागल’ भित्रै निहित गरिदिए । 
 
देवकोटाको ‘पागल’ कविताले नेपाली कविताको फाँटमा नयाँ तरङ्ग पैदा ग¥यो । साथै, उक्त कविता उनको प्रतिनिधि कवितामा पनि स्थापित भयो । त्यति बेला सो कविता उनी प्रायः सल्लाहकार सभाको चमेनागृहमा लगेर पनि पाठ गर्थे । उनी चमेनागृह गएका बेला उनका वरिपरि साथीहरू झुम्मिने हुनाले सभामा सांसदहरूको कोरम नै पुग्दैनथ्यो ।
 
त्यति मात्र होइन, उनले ‘पागल’ कविता प्रायः महिनौँ दिनसम्म आफैसँग बोकेर हिँडे र जहाँजहाँ एक्कै ठाउँ दुईचार जना मान्छे भेट्थे त्यहीँत्यहीँ उनी सो कविता सुनाउने गर्थे । त्यति बेला खासगरेर चियापसलहरूमा उनी आफ्ना कविताका श्रोता भेट्थे भनेर दान खालिङले पनि वयान दिएका छन् ।
 
यस कविताका विषयमा कुमारबहादुर जोशीले लेखेका छन् “पागल’ चाहिँ वस्तुतः पागलपनको आरोपबाट उत्प्रेरित भनूँ उद्दीप्त महाकवि देवकोटाको उच्चतर स्तरको एक अतिशय सशक्त गद्यकविता हो । ...उनका इष्टमित्र, साहित्यिक साथीहरू र राजनैतिक क्षेत्रका व्यक्तिहरूले पनि उनलाई बेलाबेलामा पागल भनेर तिरस्कार गरेको तथा काम पर्दा उनीबाट खुब फाइदा उठाइए तापनि कुनै लाभको अवसर आउँदाखेरि भने उनलाई पागल भनेर पन्छाइएको जस्ता घटनाहरूका पृष्ठभूमिमा तिनैको प्रतिक्रिया स्वरूप तयार पारिएको प्रस्तुत कविता कविले पागलपनको आरोप सकारेजस्तो गरी पागल भन्ने लोकलाई नै वस्तुतः व्यङ्य गर्दै र पागल सिद्ध गर्दै आफूलाई अपागल प्रमाणित गर्ने उनको कवितात्मक प्रयासका रूपमा रहेको छ ।’’  
 
देवकोटाको ‘पागल’ कविता सर्वप्रथम ‘प्रगति’ द्वैमासिक साहित्य सङ्कलन वर्ष एक अङ्क तीन अनि २०१० सालको भदौ असोजको अङ्कमा छापियो । आफ्नो ‘पागल’लाई उनले खुबै मन पराए । त्यसैले यस कवितालाई उनले तीनपल्टसम्म पनि सम्पादन गरे । सम्पादनका क्रममा उनले पहिले लेखेका कविताका केही शब्द र वाक्य झिक्ने र केही नयाँ शब्द र वाक्य थप्ने पनि गर्दै गए : 
 
क. जरूर साथी म पागल
यस्तै छ मेरो हाल
 
ख. म शब्दलाई देख्दछु, दृश्यलाई सुन्दछु, बास्नालाई स्वाद लिन्छु;
आकाशभन्दा पातला कुरालाई छुन्छु
ती कुरा जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन
म देख्दछु ढुङ्गालाई पूmल ।
जब जलकिनारका जलचिप्ला 
ती कोमलाकार पाषाण
चाँदनीमा, स्वर्गकी
जादुगर्नी मतिर हाँस्दा, 
पत्रिएर, नर्मिएर, झल्किएर, बल्किएर उठ्दछन्—
मूक पागल झैं — 
पूmल झैं एकै किसिमका चकोर पूmल । 
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग ।
एक भाषा साथी 
जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न,
जुनेली गङ्गाकिनार; छाल आउँछ तिनको भाषा, 
साथी छाल, छाल
जरूर साथी म पागल
यस्तै छ मेरो हाल
 
ग. तिमी चतुर छौ, वाचाल
तिम्रो शुद्ध गणितसूत्र हरहमेशा चलिरहेको छ,
मेरा गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ,
तिमी पाँच इन्द्रियले काम गर्दछौ, म छैटौंले
तिम्रो गिदी छ साथी । मेरो मुटु
तिमी गुलाफलाई गुलाफसिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु ।
तिमी बलिया गद्य छौ, म तरल पद्य छु,
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी संग्लन्छौ, जब म धमिलो बन्दछु
र ठीक त्यसैको उल्टो 
तिम्रो संसार ठोस छ; मेरो बाफ
तिम्रो बाक्लो, मेरो पातलो 
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ, ठोस
कठोरता तिम्रो यथार्थ छ ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी त्यो चिसो मीठो अक्षर काटेको
पान्ढिकीको बाटुलो सत्यलाई,
मेरो छ बेग काँडाको साथी । तिम्रो सुनको र हीराको ।
तिमी पहाडलाई लाटा भन्दछौ, म भन्छु वाचाल,
जरूर । साथी मेरो एक नसा ढिलो छ,
यस्तै छ मेरो हाल 
 
घ. म माघको ठन्डीमा ताराको सेतो 
प्राथमिक राप तापेर बसिरहेको थिएँ, 
दुनियाँले मलाई तरङ्गी भने 
भस्मेश्वरबाट फर्कंदा सात दिन टोलाएको देखेर 
भूत लागेको भने,
एक सुन्दरीका केशमा समयका तुषाराको 
पहिला छिर्का परेको देखेर 
म तीन दिन रुँदा, मेरो आत्मालाई बुद्धले छुँुदा 
मलाई छटाएको भने,
मैले वसन्तको पहिलो कोकिल सुनेर 
नाचेको देख्दा बहुलाहा भने,
एक सुनसान औंसीले मलाई
निसास भएर म प्रलयवेदनाले उफ्रे,
मूर्खहरूले मलाई त्यस बेला ठिँगुरा हालेर राखे ।
म तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ,
मलाई बुज्रुगहरूले राँची पठाइदिए
म आफूलाई एक दिन मरेको सम्झेर लम्पसार थिएँ,
एक साथीले बेसरी चिमोटिदिए र भने—
“ए पागल तेरो मासु अझै मरेको छैन”
यस्ता कुरा भए सालसाल
पागल छु साथी यस्तै छ मेरो हाल
 
ङ. मैले नवाबको मदिरालाई खून भनेको छु,
छिपेकी रन्डीलाई लास भनेको छु;
राजालाई गरिब, सिकन्दरलाई मैले गाली दिएको छु,
महात्मा भनाउँदाको निन्दा गरेको छु;
नगण्य व्यक्तिलाई तर सातौं आसमानसम्म 
तारिफको पुलमा चढाएको छु
तिम्रो महापण्डित मेरो महामूर्ख, 
तिम्रो स्वर्ग मेरो नरक,
तिम्रो सुन मेरो फलाम,
साथी तिम्रो धर्म, मेरो पाप
जहाँ तिमी आपूmलाई चलाक सम्झन्छौ,
उहाँ म देख्छु तिमीलाई बिल्कुल लाटा,
तिम्रो उन्नति मेरो अवनति 
यस्तै छ मोलमोलाइको उलटपलट
साथी तिम्रो विश्व मेरो बाल
जरूर साथी म बिलकूल चन्द्राहत छु चन्द्राहत
यस्तै छ मेरो हाल
 
च. म अन्धालाई दुनियाँको अगुवा देख्दछु 
गुफातपस्वीलाई भगुवा देख्दछु,
मिथ्याका मञ्च चढेकालाई काला नटुवा देख्दछु,
विफलतालाई सफलता देख्दछु,
प्रगतिलाई अगति देख्दछु,
या हुँला मै ऐंचाताना, या हुँला मै दीवाना
साथी मै दीवाना
 
छ. निर्लज्ज नेतृत्वको नीरस रसनाको
रण्डीको नाच हेर
जनअधिकारको डँडाल्नोको भाँच हेर
जब भँगेरा टाउके छापाको कालो मिथ्याले
मेरो विवेकवीरलाई जाली झूठले ललकार्छ,
तब हुन्छन् मेरा गाला राता साथी
सल्केका गोल झैं राता
जब निमुखा दुनियाँ कालो जहर पिउँदछ—
कानले अमृत भनी ठानेर 
मेरा आँखाअगाडि साथी
तब हुन्छन् ठाडा मेरा रौं रौं
गर्गनका सर्पकेश झैं मेरा जिस्क्याइएका रौं रौं 
जब बाघले मृग खान आँटेको देख्छु साथी । 
या ठूलो माछाले सानो
तब मेरा मकाएका हड्डीमा पनि दधीचिका
आत्माको भयङ्कर बल पसेर बोल्न खोज्दछ,
साथी स्वर्गबाट चट्याङ परेको दिन झैं,
जब मानवले मानवलाई मानव ठान्दैन साथी
तब कडकडाउँछन् मेरा बत्तीसदन्ते बङ्गारा दुवै,
जस्तो भीमसेनको दाँत, अनि
प्रकोपको लाललाल आँखाका डल्ला
फनक्क घुमाएर एक डबलले म यो
अमानवको मानवजगत्लाई
एक आगोको लप्काले झैं हेर्दछु, साथी
उफ्रिन्छन् मेरा कलपुर्जा—
खलबल, खलबल—
तूफान हुन्छ मेरो सास—
विकृत हुन्छ मेरो चेहरा—
बल्दछ मेरो दिमाग साथी
बडवानल झैं — बडवानल झैं —
म वन खाने आगो झैं बहुलाहा हुन्छु,
बहुलाहा साथी
काँचै निलूँ झैं विश्व विशाल
 
जरूर साथी म सुन्दर चकोर
असुन्दर—फोर— कोमल त्रूmर—
चिडिया, स्वर्गाग्निचोर—
तूफान—पुत्र, पागल ज्वालामुखीको उद्गार,
भयङ्कर व्यक्तित्वपाल
जरूर साथी सन्केमगज छु, सन्के
यस्तै छ मेरो हाल 

0 comments: