Breaking News
Loading...
Thursday, January 16, 2014

Info Post

भूकम्प बाजा बजाएर आउँदैन 

इतिहासमा विशेष रुचि राख्ने सुरेश पौडेल अन्नपूर्ण पोस्ट्को प्रकाशन संस्था नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिमा चिफ च्यानल प्रोड्युसरका रुपमा कार्यरत छन् । टिभी पत्रकारिता र प्रविधीमा लामो अनुभव सँगालेका पौडेल नियमित रुपमा अन्नपूर्ण पोस्ट्मा लेख्छन् ।
सम्पर्क: aaplsuresh@hotmail.com


‘ठाउँठाउँका गाउँहरू फाटकजस्ता देखिन्छन्, एक घर पनि सद्दे छैनन्, भादगाउँ पाटनको उही दशा छ, राम्राराम्रा घर देवालयहरू अहिले इँटको थुप्रो भएका छन्, सडकमा इँट र धुलोको पर्वत बनेको छ, दुनियाँहरू फाटकमा बसेका छन्, सहरभित्र डुल्न पनि डरको कुरा छ, ठाउँठाउँका घरहरू धरापझैं अडिरहेका छन्।’ 
१९९० साल माघ ९ गते सोमबार प्रकाशित साप्ताहिक गोर्खापत्रमा उल्लेख गरिएको समाचार हो यो। समाचारमा अगाडि लेखिएको छ, ‘घरमा बस्न नपाएका सहरवासीहरूलाई टुँडीखेल, सरकारी भाइभारदारहरूका बगैंचा आदिमा राखी बसोवासको व्यवस्था मिलाइएको छ।’ 

९० सालको महाभूकम्प 

                 
झोछें, काठमाडौं
तस्वीर - पूरातत्व विभाग
नेपालमा १९९० माघ २ गते दिनको २ बजेर २४ मिनेट २३ सेकेन्ड जाँदा गएको ८.२ रेक्टर स्केलको महाभूकम्पमा परी काठमाडौं उपत्यका तहसनहस भएको थियो। हजारौंको संख्यामा घर, देवालय र पाटीपौवा क्षतिग्रस्त भएका थिए। भूकम्पमै परी धरहरा (भीमसेन स्तम्भ) र घन्टाघरमा ठूलो क्षति पुगेको थियो।
सबभन्दा ठूलो क्षति, हजारौं मानिसले ज्यान गुमाएका थिए। उक्त दिन साँझसम्म राजधानीका तीनवटै सहरमा पटकपटक भूकम्पका साना झट्का महसुस भइरहेकाले राजधानीवासीमा भय र आतंक मच्चिएको थियो। मन्दिर, गुम्बा, दरबारलगायत सहरका अधिकांश अनेकौं संरचना ध्वस्त भएका थिए। साँझ अबेरसम्म काठमाडौं उपत्यकाको आकाश धुलोको बादलले ढाकिएको थियो। 
बाटोघाटो, रेडियो, आकाशवाणी सबै अवरुद्ध भइसकेका थिए। तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर सिकारका लागि तराईमा भएकाले भूकम्प साम्य हुनासाथ जनरल रुद्रशमशेरले टुँडीखेल पुगी त्यहींबाट आकस्मिक बिगुल फुक्न लगाएका थिए। साबिकको बिगुल फुक्ने ठाउँ धरहरा तीन टुक्रा भएर भाँचिएको थियो। भूकम्पबाट नारायणहिटी दरबारसमेत क्षतिग्रस्त भएको थियो।
राजा त्रिभुवनका दुई छोरीको समेत पुरिएर मृत्यु भएको थियो। त्यति बेला राणाहरूका दरबारमा मात्र हुने रेडियो पनि विद्युत् आपूर्तिको अभावमा काम नलाग्ने भएको थियो। समग्रमा राजधानी उपत्यका विश्वबाट नै अलगथलग भएको थियो। सरकारी तथ्यांकअनुसार देशैभरि यो महाभूकम्पले पु:याएको क्षतिको आँकडा यस्तो थियो: 
स्थानमृत्यूघाइतेघर, टहरा, देवालय नोक्सानी 
काठमाडौ उपत्यका१६,८७५३,३९७३,३७,९४६
पहाड४,०४७१,१५११,१०,६७८
तराई८,५३२१,७१०१,७१,५४९
जम्मा२९,४५४६,२५८६,२०,१७३ 

त्यसो त सम्पूर्ण एसिया नै यो महाभूकम्पको प्रकोपमा परेको थियो तर काठमाडौं उपत्यका र भारतको विहारमा सर्वाधिक क्षति पुर्याएको थियो। काठमाडौं उपत्यकामा सम्पूर्ण भक्तपुर र ललितपुरमा लुभु, गोदावरी, चापागाउँ र बुङ्मतीमा धेरै क्षति पुगेको थियो। यस्तै काठमाडौंमा थानकोट, कीर्तिपुर र महाराजगन्जमा बढी क्षति पुगेको थियो। राजधानीमा मृत्यु हुनेहरूमा महिलाको संख्या धेरै थियो। 
भूकम्पपछि राजधानीमा उद्धारका कामहरू पनि धमाधम हुन थाले। भाइभारदार, जंगी तथा निजामती कर्मचारीलाई सक्दो सहभागी गराई ठाउँठाउँमा टोली बनाउँदै मर्नेहरूको लास झिक्ने, घाइतेहरूलाई अस्पताल तथा उद्धार शिविरमा पुर्याउने, च्यापिएका तथा थिचिएकाहरूलाई उद्धार गर्ने कार्य पनि तीव्रताका साथ हुन थाल्यो।
टुँडीखेल तथा ठूला दरबार भएका राणाहरूका कम्पाउन्डलाई पीडितहरूको सामूहिक बसोवासस्थल बनाइयो भने बालबालिकाका लागि दुध र अन्यका लागि आवश्यक खानपिनको पनि राम्रो प्रबन्ध मिलाइएको थियो।
दिन बित्दै जाँदा छाप्रोमा शरण लिएका पीडितहरूका अस्थायी बसोवासलाई व्यवस्थित तुल्याउन जस्तापातासमेत वितरण गरिएको थियो। चोरीलगायत अन्य नाजायज काम हुन थालेको थाहा पाएपछि कयौं सातासम्म रातको समयमा कफ्र्युसमेत लगाइएको थियो। कफ्र्यु अवज्ञा गर्नेलाई सुरक्षाकर्मीले गोलीसमेत हान्न सक्ने आदेश जारी गरिएको थियो। 
प्रधानमन्त्री जुद्धशमशेर भने माघ २२ गतेमात्र सिकारबाट काठमाडौं फिर्ता आइपुगेका थिए। आएकै दिन उनले टुँडीखेलबाट सान्त्वना भाषण दिएका थिए। त्यसपछि सोही वर्ष फागुन १८ गते (मार्च १, १९३४) मा उनले भूकम्प पीडितोद्धार संस्था र फन्ड कायम गर्ने घोषणा गरी सर्वप्रथम उनी आफैंले सो फन्डमा आफ्ना रानीहरूका तर्फबाट चार लाख रुपैयाँ जम्मा गरिदिएका थिए।
त्यसपछि देशभरबाट चन्दा उठाउने कार्य सुरु हुन थाल्यो। लाखौं रुपैयाँ चन्दा संकलन पनि भयो। ब्रिटिस भारत, बेलायत र जापान सरकारका तर्फबाट भूकम्प पीडितहरूका लागि सहायता गर्ने प्रस्ताव आए पनि जुद्धशमशेरले लिन अस्वीकार गरिदिए। तर, विदेशी गैरसरकारी संघसंस्थाबाट आएको सहयोग भने उनले लिई नै रहे। यसरी लाखौं रुपैयाँ संकलन भएको थियो। 
यसरी संकलित रकम जुद्धशमशेरले भूकम्प पीडित कर्मचारी, भाइभारदार र जनतालाई ऋणका रूपमा दिने घोषणा गरे। घोषणा त्यस्तो गरे पनि रकम वितरणका लागि खटिएका भाइभारदारहरूलाई रकम सकेसम्म कम बाँड्नू भन्ने आदेश पनि उनले दिए। त्यसैले रकम बाँड्न तोकिएको ठाउँमा उनीहरू पुगे पनि कममात्र वितरण गरी बाँकी फिर्ता ल्याए।
कसैकसैले त पूरै रकम फिर्ता ल्याइदिएर जुद्धशमशेरलाई खुसी पारे। यसरी कम रकम बाँड्ने र बाँड्दै नबाँड्नेहरूले भूकम्प उद्धार पदक पनि पाए। गरिब, दुखी र पीडितको पहिचान गरी पूरै रकम बाँडेर आएकाहरूले भने निकै पछिमात्र पदक पाए। तिनैमध्येका एक थिए जनरल ललितशमशेर। त्यसरी पाएको पदक उनले आफ्नो छातीमा नझुनड्याएर लबेदाले छोपिने गरी सुरुवालमा मात्र झुन्ड्याउने गर्थे। अरूले उनलाई यसबारेमा सोध्दा लबेदा उघारेर पदक देखाउने गर्थे। 
यसबाहेक पनि आफ्नो पालामा प्रधानमन्त्री जंगबहादुरले दैवीप्रकोपबाट आइलाग्ने यस्तै आपत्कालीन अवस्थाका लागि भनेर कौसी (सरकारी ढुकुटी) मा जम्मा गरिदिएको ११ करोड रुपैयाँबाट जुद्धशमशेरले डेढ करोड झिके। तर, यो रकम भूकम्पपीडितका लागि खर्च नगरी उनले आफ्नै ढुकुटीमा जम्मा गरेको उनकै भाइभारदारहरूले आरोप लगाए। राजा त्रिभुवनले समेत उक्त रकम जुद्धशमशेर आफैंले पचाएको बताएका थिए। 
प्रकृतिको यो विनाशकारी लीलाबाट नेपाली समाज निकै त्रसित भयो। त्यति बेला टोलटोलमा पौराणिक कथावाचन तथा भजनकीर्तन गर्दै गरेको देखिन्थ्यो। विनाशले नै विकास ल्याउँछ भनेजस्तै यो महाभूकम्प नै राजधानीको स्वरूप परिवर्तनको कारक पनि बन्यो। निकै पुराना र जीर्ण भवनका ठाउँमा नयाँ भवन उभिए। मन्दिर, गुम्बा, पाटीपौवाहरूको पनि जीर्णोद्धार भयो। धरहरा र घन्टाघरका स्वरूप फेरिए। काठमाडौंका सडक चौडा बने। ढलहरूको व्यवस्था भयो। काठमाडौंको नयाँसडक पनि यसैको उपज थियो।
यो महाभूकम्पबाटै युवावर्गमा संगठित हुने अभ्यास बस्यो किनभने सरकार आफूले मात्र सबै गर्न सक्ने अवस्था थिएन, परिस्थिति नै एकअर्कोलाई सहयोग गर्नुपर्ने खालको थियो। जनसम्पर्क बढ्न थाल्यो, संगठित रूपमै परोपकार र सामाजिक सेवाका लागि अनेकौं संघसंस्था खोलिए। फाटफुट रूपमा पब्लिक स्कुल पनि खुले। भनिन्छ, संगठित हुने यही अभ्यासका कारण २००७ सालको क्रान्तिका लागि पनि संगठित हुने आधार तयार भएको थियो। 
गोरखाको टक्सारमा वि सं १९७४ मंसीर २८ गते जन्मिएका नन्दप्रसाद घिमिरे नब्बे सालको भूकम्प जाँदा १७ वर्ष उमेरका थिए । गत वर्ष साउनमा मृत्युवरण गर्नु अगाडि भूकम्पको छोटो अनुभव लय हालेर हामीलाई सुनाएका घिमिरेको अनुभव:

नेपालमा भूकम्पको इतिहास 

थाहा भएसम्मको इतिहासअनुसार नेपालमा जुन ७, १२५५ तदनुसार १३१२ साल जेठ ३१ गते म्मंगलबार (कतैकतै वि.सं. १३१० पनि उल्लेख गरिएको छ, जो नमिल्दो छ) गएको भूकम्पदेखि रेकर्ड राख्न थालेको पाइन्छ। त्यसपछि १९९० सालसम्मको ६ सय ७८ वर्षको अन्तरालमा १० वटा ठूला भूकम्प नेपालमा गइसकेको इतिहासले देखाउँछ।
१९९० सालपछिको उल्लेखनीय भूकम्प २०४५ सालको हो जसले विशेष गरी पूर्वी नेपालमा धनजनको ठूलो क्षति गराएको थियो। बीचबीचमा महसुस गरिएका सानातिना भूकम्पमा परेर पनि देशभरबाट मानिसले ज्यान गुमाउँदै आएका छन्। 

नेपालमा भूकम्पको अन्तराल 

नेपालमा लगभग ५५ देखि ९० वर्षको अन्तरालमा एउटा ठूलो र २२ देखि २५ वर्षको अन्तरालमा मझौला खालको भूकम्प जाने गरेको तथ्य पाइन्छ।
यस दृष्टिकोणबाट भन्ने हो भने अब नेपालमा आठ रेक्टर स्केलभन्दा ठूलो भूकम्प जानसक्ने शक्ति सञ्चित भइसकेको धारणा विज्ञहरूको छ।
अमेरिकाको कोलोराडो विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अध्ययनअनुसार नेपालमा ठूलो भूकम्प जान ढिला भइसकेको देखिन्छ।
यद्यपि बीचबीचमा गइरहने भूकम्पका सानातिना धक्काले ठूला भूकम्पको सम्भावना टार्ने तर्क अर्को महाभूकम्प नआइन्जेलसम्म चाँहि ठीकै मान्न सकिएला। 
वि सं १९९० सालको भूकम्प नेपालमा अहिलेसम्मकै ठूलो भुकम्प हो । १९६९ फागुन २३ र १९७३ भदौ १३ गते नेपालमा ७.३ रेक्टर स्केलको भूकम्प गएको तथ्याङ्क पाइन्छ।
त्यस्तै ७ रेक्टर स्केलको भूकम्प भने ५ पटक गएको पाइन्छ । १८९० मा भदौ, असोज र कार्तिकमा लगातार एंव १९२३ असार र १९९३ जेठमा उक्त शक्तिको भूकम्प नेपालमा महशुस गरिएको थियो।

विश्वमा नेपालको अवस्था 

भूकम्प एक विध्वंशात्मक प्राकृतिक शक्ति हो। एसियाको म्यानमारदेखि नेपाल हुँदै पाकिस्तानसम्म फैलिएको सम्पूर्ण हिमाली क्षेत्रलाई वैज्ञानिकहरूले अतिभूकम्पीय क्षेत्र मानेका छन्। यो दुई हजार पाँच सय किलोमिटरको लम्बाइमा म्यानमारको केही पूर्वी र पाकिस्तानको केही पश्चिमी भाग जोगिए पनि नेपालको पूरै हिमाली क्षेत्र परेको छ।
यस अर्थमा पनि नेपाल पूर्णरूपमा भूकम्पीय जोखिम बोकेको क्षेत्रका रूपमा रहँदै आएको छ। त्यतिमात्र होइन, भूकम्पको अति जोखिम भएका विश्वका ४० भन्दा बढी देशमा नेपाल ११औं स्थानमा पर्छ। 

सबैभन्दा ठुला भुकम्प (क्षति संख्याको आधारमा)

मृत्यु संख्यारेक्टर स्केलमितिस्थान
८,३०,०००१६१२ माघ १६सेन्सी, चीन
३,१६,०००२०६६ पुस २८हाइटी
२,४२,७६९७.५२०३३ साउन १२टाङसन, चीन
२,२७,८९८९.१२०६१ पुस ११सुमात्रा, इन्डोनेशिया
२,००,०००७.८१९७७ पुस २निङसा, चीन
१,४२,८००७.९१९८० भदौ १६क्वान्टो, जापान
१,१०,०००७.३२००५ असोज ५तुर्कमिनिस्तान
८७,५८७७.९२०६५ बैशाख ३०सिचुवान, चीन
८६,०००७.६२०६२ असोज २२पाकिस्तान
७२,०००७.२१९६५ पुस १४मेसिना, इटाली
स्रोत: यूएस जिओलोजिकल सर्भे

भूकम्पीय सचेतनाका प्रयास 

नेपालमा भूकम्प सुरक्षा दिवस मनाउन थालेको १६ वर्ष भएको छ। सुरुसुरुमा यससम्बन्धी जनचेतना प्रवाहमा लागेकाहरूलाई आतंक फैलाएको आरोप पनि लाग्ने गथ्र्यो। जे होस्, विभिन्न संघसंस्थाले यससम्बन्धी गरेका अनवरत कार्यबाट मानिस सचेत हुन थालेका देखिन्छन् तर अझै पनि धेरै गर्न बाँकी छ। यस्ता प्रयास देशव्यापी, अझै भन्नुपर्दा साक्षरता प्रतिशत कम भएका जिल्लामा बढी हुन आवश्यक छ। 

अनुमान

 
के हुन्छ त नेपालमा फेरि १९९० सालको जस्तो महाभूकम्प दोहोरियो भने? 
१९९० सालकै तथ्यलाई आधार मान्ने हो भने काठमाडौं उपत्यकाको अहिलेको जनसंख्याअनुसार करिब एक लाख मानिसको मृत्यु हुनेछ भने करिब पाँच लाख मानिस नराम्ररी घाइते हुनेछन्। त्यतिमात्र होइन, तीनवटै सहरका ६० प्रतिशतभन्दा बढी घर मरमतै हुन नसक्ने गरी ध्वस्त हुनेछन्। 

काठमाडौं उपत्यकाको भौगोलिक अवस्था र निर्माणको प्रवृत्ति

अध्ययनले देखाउँछ, काठमाडौं उपत्यकाको भूमि संरचनाअनुसार यसको बीच भागमा कालोमाटोको निक्कै बाक्लो पत्र छ, जुन नरम र खुकुलो खालको छ। यस्तोमा सात रेक्टर स्केलभन्दा माथि बग्ने भूकम्पीय तरंग अति नै विध्वंशात्मक हुने गर्छ।
जमिनको सतहबाट करिब ३० फिट गहिरोसम्मको माटोको तह भूकम्पबाट अति नै प्रभावित हुने गर्छ। तरंगहरू जतिजति माथि आउँछन्, उति नै सक्रिय हुने गर्छन्। हालका वर्षहरूमा राजधानीमा अग्लाअग्ला भवन ठडिने होड नै चलेको छ। यसकारण पनि अन्यत्रभन्दा राजधानीमा निर्माण गरिने घर तथा भवनको सुरक्षामा बढी ध्यान दिन आवश्यक छ। 

९ रेक्टरको भूकम्प गयो भने

काठमाडौँमा ९ रेक्टर स्केलको भूकम्प गयो भने एक लाखदेखि दुई लाखको बीचमा बासिन्दा घाइते हुनेछन् भने ६० प्रतिशत भवन भत्किनेछन् र ६ लाखदेखि ९ लाखसम्म घरबारविहीन हुनेछन्।
यस्तो अवस्थामा घरबारविहीनहरुलाई काठमाडौँका कुन-कुन स्थानमा राख्न सकिएला ? संभावित स्थानको पहिचानका लागि आईओएम र गृह मन्त्रालयले अध्ययन गरेको छ।
अध्ययनले काठमाडौँ उपत्यकामा ठूलो, मध्यम र साना गरी तीन स्तरका शिविर पहिचान गरेको छ। ठूला शिविरहरुमा ३० हजारदेखि ९० हजारसम्म राख्न सकिनेछ भने मध्यम स्तरका शिविरको क्षमता २० हजारदेखि ४५ हजार जना राख्न सकिनेछ।
उपत्यकामा दुई ठूला र ६ वटा मध्यम शिविर राख्न मिल्ने ठाउँ पहिचान गरिएको छ। ठूला शिविरहरुमा १ लाख १८ हजार ५१ जनासम्म र मध्यम शिविरहरुमा २ लाख ८६ हजार ९ सय ८ जना अटाउनेछन्। त्यसैगरी साना शिविरहरुमा एक हजारदेखि २० हजारसम्मलाई राख्न सकिन्छ। ७५ वटा साना शिविर स्थल पहिचान भएका छन् जसमा ३ लाख ८७ हजार ७३९ जना अटाउन सक्नेछन्।

ठूला शिविरः

त्रिभुवन विश्वविद्यालय
अवस्थितिः चक्रपथ बाहिर तर काठमाडौँको मुख्य स्थानबाट नजिकै।
क्षेत्रफलः ८७५, ०४३ वर्ग मिटर
स्वामित्वः त्रिभुवन विश्वविद्यालय
क्षमताः २५००१२ (३.५ वर्गमिटर प्रति व्यक्ति), ८७,५०४ (१० वर्गमिटर प्रति व्यक्ति), १९४४५ (४५ वर्गमिटर प्रतिव्यक्ति)
नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क)
अवस्थितिः चक्रपथको दक्षिणी छेउ।
क्षेत्रफलः ३०५, ४७० वर्गमिटर
स्वामित्वः कृषि मन्त्रालय
क्षमताः ८७, २७७ (३.५ वर्गमिटर प्रति व्यक्ति), ३०,५४७ (१० वर्गमिटर प्रति व्यक्ति), ६८०० (४५ वर्गमिटर प्रतिव्यक्ति)
पहुँचः चारै दिशाबाट सडक बाटो

मध्यम शिविरहरु

रत्नपार्क
क्षेत्रफलः १५५४०० वर्गमिटर
क्षमताः ४४,४०० जना (३.३ वर्गमिटर प्रति व्यक्ति)
स्वामित्वः टुँडिखेल (सेना) रत्नपार्क बगैँचा र खुल्लामञ्च (काठमाडौँ महानगरपालिका)
विमानस्थल/गल्फ क्लब साइट
क्षेत्रफलः २५३३२७ वर्गमिटर
क्षमताः ७२३७९ जना (३.५ वर्गमिटर प्रति व्यक्ति)
स्वामित्वः पशुपति क्षेत्र विकास कोष र नागरिक उड्ययन विभाग
विमानस्थलको छेउ
क्षेत्रफलः १४६५७५ वर्गमिटर
क्षमताः ४१८७८ जना (३.५ वर्गमिटर प्रति व्यक्ति)
स्वामित्वः नागरिक उड्ययन विभाग
अक्सिजेनेसन पार्क (बागमती नदी किनार, त्रिविवि छेउ)
क्षेत्रफल: १४६६०४
क्षमताः ४१८८७ जना (३.५ वर्गमिटर प्रति व्यक्ति)
स्वामित्वः कृषि मन्त्रालय
गोकर्ण गल्फ क्लब साइट
क्षेत्रफलः १७८२१२ वर्गमिटर
क्षमताः ५०,९१७ जना (३.५ वर्गमिटर प्रति व्यक्ति)
स्वामित्वः वन मन्त्रालय
वीरेन्द्र सैनिक स्कूल
क्षेत्रफलः १३४५६४ वर्गमिटर
क्षमताः ३८४४७ जना (३.५ वर्गमिटर प्रति व्यक्ति)
स्वामित्व: सेना/रक्षा मन्त्रालय

पूर्वतयारी 

वास्तवमा भूकम्पबाट जोगिने सबभन्दा प्रभावकारी उपाय भनेकै यसबाट बच्न गरिने पूर्वतयारी हो र सबैमा यससम्बन्धी जनचेतना जगाउनु हो। मानव स्वभाव कस्तो छ भने जबसम्म आफैंले भोग्दैन र आफू नै पर्दैन तबसम्म यस्ता कुरालाई उसले समयको बर्बादी ठान्छ। तर, काठमाडौं उपत्यकामा बसोवास गर्नेहरूले यो भ्रम त्याग्न सक्नुपर्छ। सकेसम्म आफैं सचेत हुने हो, नभए यससम्बन्धी पाएको ज्ञान अवलम्बन गर्ने हो।
भूकम्प आइरहेको अवस्थामा घरमा तथा आफ्नो कार्यथलोमा जोगिने उपायहरूका बारेमा व्यक्ति र समाजमा सचेतना अवस्य पनि बढेको छ तर सरकार कत्तिको सचेत छ? विशेष गरी काठमाडौं उपत्यकामा विमानस्थल र उपत्यका छिर्ने सडक नाकाहरूमा भूकम्पबाट अवरोध आयो भने छिटोभन्दा छिटो त्यस्ता अवरोध हटाउनेतिर केकस्तो तयारी सरकारको हुनेछ?
यसबारेमा भूकम्प आइसकेपछि तत्परता देखाएर केही लाभ छैन। नेपालमा महाभूकम्प अवश्य पनि आउनेछ, मात्र कुरा के हो भने कहिले र कहाँ आउनेछ, त्यसका लागि नै हो यसबाट बच्न पूर्वतयारी गर्नुपर्ने किनकि भूकम्प बाजा बजाएर आउँदैन।


0 comments: