शौचालय बनाएर पनि उचित तरीकाले प्रयोग गर्ने कति छन् ?’ यस्तै तथ्याङ्क खोज्दै हिँड्छन्, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय वीरेन्द्रनगर सुर्खेतमा अध्ययनरत बालबालिकाहरु ।
पढाइको अतिरिक्त आफ्नो टोल, बस्ती र वडालाई नै खुल्ला दिसामुक्त बनाउने अभियानमा जुटेका उनीहरु विद्यालय छुट्टी हुनासाथ डट्पेन र रजिष्टर बोकेर घरघर चाहार्न पुगिहाल्छन् ।
टोलमा कति नयाँ शौचालय थपिए, यसको अद्यावधिक गर्ने र शौचालय नबनाउनुको कारण खोज्ने काम पनि बालबालिकाहरुकै दायित्व भित्र पर्दछ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)ले बालबालिकाहरुलाई सरसफाईमा परिचालन गरेको हो । बालक्लब गठन गरी संगठित भएपछि उनीहरुलाई सुरुमा आफू कसरी स्वस्थ रहने भन्ने कुरा सिकाएका थिए ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) सुर्खेतकी परियोजना सहायक चन्दु भुषाल भन्नुहुन्छ, ‘त्यसपछि उनीहरुले आफ्ना बुबा आमालाई आ–आफ्नो घरमा चर्पी बनाउन लगाए । आफ्नो घरमा चर्पी बनाएपछि छिमेकीलाई चर्पी बनाउनुहोस् भन्न कुनै अफ्ठ्यारो र गाह्रो काम थिएन उनीहरुले त्यसै गरे ।’ अहिले विद्यालयको सेवाक्षेत्र भित्र पर्ने सबै घरधुरीमा शौचालय बनिसकेका छन् ।
सुरुमा बालक्लवका सदस्यहरुले निश्चित गाउँ टोलको चर्पीको तथ्यांक संकलन गरेका थिए । संकलित तथ्यांकको आधारमा शौचालय नभएको घरधुरीलाई शौचालय बनाउने सल्लाह दिए ।
बाल क्लवका विजय विक भन्छन्, ‘हामीले तथ्यांक संकलन गर्दा बालक्लवकै सदस्यहरुको घरमा पनि शौचालय पाएनौं, हामीले साथीहरुलाई भन्यौं, बुबा आमालाई तत्काल बनाउन लगाउनुहोस् ।’
उनीहरुले महिना दिनको अनुपातमा गाउँ टोलको अनुगमन गरिरहेका छन् । जसले शौचालय निर्माण गर्यो उनीहरुले त्यो पनि अद्यावधिक गरिरहेका छन् । बालक्लवका सदस्य मीना नेपाली भन्छिन् ‘शौचालय निर्माण नगर्नेहरु किन गर्दैनन् भनेर हामीले कारण पनि खोज्यौं, कतिलाई हामीले शौचालय बनाउन सहयोग गर्यौं भने कतिलाई सचेत गरायौं ।’
सबैको घरमा चर्पी बनाउनका लागि उनीहरुले विभिन्न रणनीति अपनाएका छन् । आर्थिक अवस्था मजबुत नभएका कारण शौचालय बनाउन नसक्नेलाई सबै मिलेर शौचालय निर्माण गरिदिएका छन् भने आर्थिक हैसियत भएर पनि शौचालय नबनाउनेलाई प्लेकार्ड प्रदर्शन तथा सडक नाटक समेत देखाएका छन् ।
विभिन्न तरीका अपनाएर भए पनि टोलको सबै घरधुरीमा शौचालय बनाउन सफल भएका विद्यार्थी भाइबहिनीहरु हिजोआज स्याबासीको पात्र बनेका छन् । उनीहरुलाई चर्पीको कुरा गर्दै हिँड्दा धम्क्याउनेदेखि यो अभियान चलाउन उत्प्रेरित गर्ने सम्मले धन्यवाद दिने गरेको बालक्लवका सदस्यहरु बताउँछन् ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) सुर्खेतकी परियोजना सहायक चन्दु भुषाल भन्नुहुन्छ ‘विद्यालयको अगुवाईमा सरसफाई कार्यक्रम सन्चालन गर्दा धेरै प्रभावकारी भयो, आफ्ना छोराछोरीले चर्पी बनाउनुहोस् भन्दा कुन बाबुआमाले नकार्न सक्छन् र ?’
छोराछोरीले चर्पी बनाउन आग्रह गर्दा कतिपय अभिभावकले लाजले पनि शौचालय बनाउने गरेको उहाँको अनुभव छ । ‘हाम्रा केटाकेटीले नभनेको भए हामीसँग अझै चर्पी हुने थिएन’ चर्पीको कुरा गर्दा हिजोआज सुर्खेतको बीरन्द्रनगर नगरपालिका – २ का अभिभावकहरु यसै भन्न थालेका छन् ।
0 comments:
Post a Comment