मानसीह बिक
नेपाली जनपक्षीय परिवर्तनकारी पत्रकारिता क्षेत्रका अग्रज एवं हाम्रा आदर्शपात्र जनपक्षीय पत्रकार कृष्ण सेन ‘इच्छुक’ आज हाम्रो सामु हुनुहुन्न । उहाँले देश र जनताको मुक्तिको लागि बलिदान दिएको आज ठीक १४ वर्ष पूरा भइसकेको छ । यो १४ वर्षको अन्तरालमा केही युगान्तकारी परिवर्तन भएका छन् । यो कसैको बलिदान विना नेताहरुको भाषणले मात्रै आएको होइन यो त महान नेपाली आमाको बहादुरी वीर सन्तानहरुको वलिदानबाट मात्रै सम्भव भएको हो । यो बेलामा भएको परिवर्तनलाई हामीले धेरै चर्चा परिचर्चा गरिरहेका छौँ तर पनि कृष्ण सेन लगायत हजारौँ शहीदको सपनाका बारेमा सोच्न कम समय दियौँ । यो बारेमा हामीले सबैले इतिहासबाट पाठ सिक्नु पर्ने बेला भएको छ ।
१४ वर्षको अन्तरालमा नेपाली धर्तीमा क्रान्तिको विजा रोपन गर्ने माओवादी शान्ति प्रक्रियामा अवतरण भयो । करिव नेपालको ८० प्रतिशत ग्रामीण इलाकामा जनसत्ता चलाउँदै आफ्नो प्रभाव कायम गर्न सफल विद्रोही शक्ति र राजाको ‘कु’ बाट काठमाण्डौंको चक्रपथ लगायत शहरको सानो भूभागमा केन्द्रीत संसदवादी राजनीतिक दलहरु बीचमा एकता पनि भयो । राजतन्त्र ढल्यो, संविधान निर्माण भयो, समानुपातिक, समावेशीको नीति बन्यो, देश संघीतामा गयो । राज्यको शासकीय स्वरुपमा बदलाव आयो । यता माओवादी आन्दोलन साना साना तुक्रामा विभाजन भयो । युद्धबाट बल्ल शान्ति प्रक्रियामा आउँदा जसरी देशकै ठूलो पार्टी बन्यो, त्यस जनताको मतलाई सम्मान पूर्वक ग्रहण नगर्दा फेरी कमजोर भयो । करिव एक दशकको समयमै दर्जनभन्दा कम्युनिष्ट पार्टीहरु गठन गरियो । फेरी माओवादीहरु आफैमा कमजोर बनेका थिए । साना साना तुक्रामा विभाजनको हुँदाको वास्तविक क्षतिको बारेमा गम्भिर समीक्षा सहित फेरी एक हुँदैछन् । करिव १५ वर्षको अन्तरालमा धेरै युगान्तकारी परिवर्तन भयो । यो परिवर्तनको सम्बाहक पार्टी नेतृत्वले विचार तथा नीति कार्यक्रम बनाएर विचार प्रदान गरेपनि त्यसलाई कार्यन्वयन आम कार्यकर्ता नै हो । अझ चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओले भने झै–“वलिदान क्रान्तिको उर्जा हो ।” वलिदान विना क्रान्ति नत सम्भव छ, नत पछि हुन्छ । यो त राजनीतिको विकास गर्नका लागि नै वलिदान हो । यो परिवर्तनका लागि मुख्य श्रेयकर्ता शहीदहरु नै हुन् ।
जनपक्षीय कलमजीवी पत्रकार एवं साहित्य क्षेत्रका आदरणीय आदर्श पात्र कृष्ण सेन ‘इच्छुक’ को यस धर्तीबाट तत्कालीन राज्य पक्षले ज्यान लिएको १४ आँै बसन्तहरु वितेको छ । वर्तमानको यस घडीसम्म १४ पटक विरुवाहरुले पालुवा फेरि सके, १४ औँ वसन्तहरु फेरिसके, तर सेन लगायत तमाम सहिदरुको महान सपनाहरु पूरा भएका छैनन् । यतिबेला १४ औँ स्मृति दिवसको सन्दर्भमा मलाई केही कुरा लेख्न मन लागेको छ । वर्तमान समयको नेपाली पत्रकारिता र सेनको जीवनका आदर्शलाई हामीले कतिको पकड्न सक्यौं वा सकेनौँ यो एउटा समीक्षा विषय हो । तर, आजको यो वर्तमान समयमा कृष्ण सेनका आदर्श विचार र क्रान्तिकारी निडरपन, धैर्यता, निर्भिकता र अविलनको आवश्यकता भने खड्कीएको छ ।
इच्छुकको संक्षिप्त चिनारी र सेनका योगदानः–अर्घाखाचीको सातमारा निवासी यमबहादुर सेन र भीमकुमारी सेनको कोखबाट २०१३ साल कार्तिक ३ गते देहरादुनमा कृष्ण सेनको जन्म भयो । सानै उमेरमा साहित्यमा रुची राख्ने इच्छुकले कलिलो उमेरदेखि नै रचना सृजनामा लाग्नुभएको थियो । साहित्य एवं लेखनको यात्राबाट मुक्तिकामी जनताको सेवा गरि रहेको हालबाट उनका सृजनाबाट थाहा पाउन सकिन्छ । औपचारिक रुपमा २०२८ सालदेखि कवितामार्फत् साहित्य लेखनतर्फ प्रवेश गर्नुभएका कृष्ण सेन ‘इच्छुक’का सहिद मित्रमणि आचार्यको सम्झनामा दाङ जेल बसाईको क्रममा लेख्नुभएको ‘शोक काव्य’ २०४८ सालमा प्रकाशित भएको छ । जनयुद्ध भिषण बन्दै गएको थियो । त्यति बेला उहाँको रचना पनि सर्वहारा वर्गको क्रान्तिको विकास र विस्तारको लागि नै थियो । सर्वहारा वर्गको मुक्तिका लागि आफ्नो कमलको यात्रा पत्रकारिता र साहित्यक्षेत्रबाट नै जनयुद्धबारे जनतालाई सचेतना फैलाउनु भएको थियो ।
त्यसैगरी २०५६ सालमा ‘इतिहासको यस घडीमा’ कविता संग्रह प्रकाशनमा लिनुभएको थियो । त्यसरी नै उहाँले फेरी २०५८ सालमा ‘बन्दी र चन्द्रागिरी’ कविता संग्रह प्रकाशित गर्नुभएको छ । थुप्र्रै सङ्ग्रहहरु अझै प्रकाशनको लाइनमा रहेका छन् । उहाँको जीवनको संघर्षमय बनेको थियो । संघर्षशिल कृष्ण सेन ‘इच्छुक’ नेपाली प्रगतिशील पत्रकार क्षेत्रका एक महान तथा अथक योद्धा हुनुहुन्थ्यो भन्ने कुरा इतिहासले पुष्टी समेत गरि सकेको छ । सानै छडा पनि विद्रोही स्वभावका ‘इच्छुक’ ले कलिलै उमेरदेखि समाज सेवा गर्न थाल्नुभएको थियो । उहाँको जीवनलाई हेर्दा बहुप्रतिभाका धनी भएको इतिहासका पानामा उल्लेख छ । तर उनी सम्पन्नशाली परिवार भएपनि जसरी गौतम बुद्धले आफ्नो नीजि परिवारिक मोह जसरी त्याग गर्नुभयो त्यसरी नै उहाँले पनि नीजि विलासिताको जीवन साधा जीवन उच्च विचारको आदर्शलाई प्रतिवद्ध भइ अगाडि बढ्नुभएको थियो । उहाँले जनपक्षीय पत्रकारिताको माध्यमबाट पु¥याएको योगदानबाट नेपाली सर्वहारा भोका नाङ्गा जनतालाई निकै नै सहयोग पुगेको थियो । जो आज आम नेपाली जनताको लागि एउटा बौद्धिक सम्पत्तिको रुपमा ग्रहण गर्न लायक भएको छ ।
उहाँको जीवन पत्रकारिता र साहित्य क्षेत्रमा मात्रै सीमित रहेन । उहाँको जीवन मेरो दृष्टिकोणमा तीन क्षेत्रमा विशेष ख्याती प्राप्त एवं प्रतिभाको धनि मान्न सकिन्छ । पहिलो उहाँको जीवन राजनीतिक जीवन, दोस्रो पत्रकारिता जीवन र तेस्रो साहित्य एवं लेखकीय जीवन हो । यस बाहेक उहाँले अन्य क्षेत्रमा पनि काम गर्नुभयो । उहाँको राजनीतिक जीवन कम्युनिष्ट विचारधारा एवं कम्युनिष्ट दर्शणबाट निकै प्रशिक्षित व्यक्ति हो । कम्युनिष्ट दर्शणबाट ओतप्रोत कृष्ण सेनले सधैभरी जनताको मुक्तिलाई केन्द्र विन्दुमा राखेर राजनीतिक बैचारिक बहस चलाउनु भएको थियो । मालेमाबादको सैद्धान्तिक आलोकमा हुर्केर आफूलाई परिवर्तनको मार्गमा अगाडि बढाउनुभएको थियो । सर्वहारा वर्ग, भोका नाङ्गा, निमूखा जनताको मुक्तिका लागि आफ्ना विचार संघर्षलाई तीव्ररुपमा आरणमा पाइन चोप्दै अगाडि बढ्नुभएको थियो । तर अरुका लागि नै काम गर्नुपर्ने भन्ने दर्शणबाट प्रशिक्षित सेन कहिले पनि पद मागेनन् र आफ्नो लागि काम गर्न र गराउनुभएको थियो ।
यस्तै उहाँले पत्रकरिता क्षेत्रबाट पनि समाज सेवा गर्नुभएको थियो । पत्रकारिता पनि समाजको सेवा गर्न सकिने माध्यम भएको निष्कर्ष सहित उहाँले सोही क्षेत्रबाट नै देश र जनताको सेवा गर्नुभयो । पत्रकारिता पनि त्यस्तो पत्रकारिता हो कि जो गास, बास, कपास, रोग, भोग, अशिक्षा र बेरोजगार लगायत अभावै अभावमा जीवन जिउन वाध्य भएका, राज्य सत्ताबाट शोषण दमन र उत्पीडनमा परेका नागरिकहरुको वारेमा कलम चलाउँदै तीन वर्गकोे जीवन फेर्नका लागि अगाडि बढ्नुभएको थियो । पत्रकारिता पनि सर्वहारा श्रमजीवी जनताको मुक्ति एवं सत्ता स्थापनालागि थियो । यस्तै उहाँको जीवन राजनीति र पत्रकारिता मात्रै पनि सीमित रहेन । उहाँको जीवन साहित्यमय थियो । सेनले साहित्य क्षेत्रबाट सामाजिक, साँस्कृति राजनीतिक, आर्थिक, जातीय, लैगिंक उत्पीडनको बारेमा वकालत एवं पैरवीमा लाग्नुभएको थियो । त्यसैले उहाँको जीवन बहुप्रतिभाको धनी जीवन भन्न कुनै संकोच छैन । उहाँको करिव ४६ वर्षहरु यसरी संघर्षमय तरिकाले वितेको निष्कर्षमा पुग्न कुनै संकोच छैन ।
कृष्ण सेन ‘इच्छुक’ को पत्रकारिता जीवन निकै महत्पूर्ण रहेको छ । सेनले अगाडि बढाउने समाचार, लेखन भनेको शक्ति, पद, प्रतिष्ठा र पैसाका लागि पत्रकारिता थिएन । उहाँको कलम शोसक, सामन्ति, जनताको बर्ग बैरीका विरुद्धमा लक्षित हुने गर्दथ्यो, भने भोका, नांगा, निमूखा जनताका वर्ग उत्थानको लागि थियो । उहाँले उठाएका विषय बस्तुहरुकै आधारमा नेपालको राज्यपक्षले रहन सकेन अनि उहाँले गर्ने हरेक प्रगतिको कदममा कालो बादल, अगंजको पहाड भइ उभिरह्यो । राज्यपक्षले सधै उहाँकोले उठाएको मुद्धाहरुलाई सम्बोधन गरी जनतालाई सम्बृद्धी बनाउने भन्दा पनि हकअधिकारबाट झन बञ्चित गराउँदै गएको थियो । नागरिक स्वतन्त्रताको कुरा उठाउनु भएको थियो । उहाँले नागरिकहरुले बोल्न र लेख्न पाउनुपर्दछ, नागरिक स्वतन्त्र रुपमा हिड्न पाउनुपर्दछ, राज्यले दिएका, संविधानमा व्यवस्था भएका कानुन अनुसार निर्वाधरुपमा कार्य सञ्चालन गर्न पाउनुपर्ने कुरा उठाइरहनुभएको थियो । त्यो सत्य विद्रोह, न्यायपूर्ण आवाजलाई सहन नकेन, त्यो रचनात्मक सल्लाह सुझावलाई राज्य बुझ्न सकेन । जसरी भिमसेन थापाले भने झै ‘सत्यले सरापेको देश’ हाम्रो नेपालमा २०५८ साल मंसिर ११ गते कांग्रेस नेता शेरवहादुर देउवा नेतृत्वको तत्कालिन सरकारले देशमा संकटकालको घोषणा गरे लगतै गोविन्द आचार्य लगायत दजनौँ जनपक्षीय पत्रकारहहरुलाई पक्राउ गरि जेल चलान गरेको थियो । त्यसवेला कृष्ण सेनसहितका साथीहरुले जनादेश पत्रिकालाई निरन्तरता दिइरहनुभएको थियो । यसै क्रममा एक पत्रकार जो राज्यबाट पालित पत्रकारको सुराकीले दिएको सूचनाको आधारमा ०५९ जेठ ६ गते कृष्ण सेनलाई पक्राउ गरेको थियो । उहाँलाई एक हप्तासम्म अनेकखाले यातनाका साथ प्रहरी हिरासतमा राख्दा पनि माओवादी पार्टी र त्यसका नेताहरुवारे कुनै पनि सूचना नदिएको आरोपमा हिरासतभित्रै २०५९ साल जेठ १३ गते विभत्स हत्या गरियो । उहाँको भौतिक जीवन सधैका लागि यो धर्तीबाट विदा गराइयो । यो देशका शासक वर्गले उहाँको लिला समाप्त पार्न कायरतापूर्ण तरिकाले हत्या गरेको थियो । उहाँ देश र जनताको मुक्तिको लागि आफ्नो जीवन वलिदान दिएर यो शारा संसारको खुशीमा आफ्नो खुशी गुमाउनुभयो । उहाँ सधैका लागि सबैका लागि खुशी बनाउनुभयो ।
कृष्ण सेनलाई २०५९ साल जेठ १३ गते मारिएको थियो । कृष्ण सेन ‘इच्छुक’ नेपाली पत्रकरिताक्षेत्रका जनपक्षीय पत्रकार हुनुहुन्छ । उहाँले उठाएका आवाज, नेपाली जनजीवन, जनतन्त्र र जनजिविका सवालमा लेखिएका मुद्धाहरु अझै पूरा हुन सकेका छैनन । कृष्ण सेन जस्तो एउटा बहुप्रतिभा, नेपाल र नेपालीको जीवन परिवर्तन हुनुपर्दछ भन्ने नेपाली आमाका सच्चा सपुतको राज्यले सम्मान गर्न सक्नुपर्दथ्यो । राज्यलाई जनताको प्रतिनिधि इच्छुक कुनै पार्टी विशेषको विषयलाई प्राथमिकता दिएको थिएन । उसले त गाममा गमालीहरु नाङ्गै खुट्टामा तिमोर बोक्दै कोइलाबासमा नुन बोक्ने गएको कुरा, छोराको बलिदानले मानसिक चेत गुमाउनुभएका विर्शु सुनार, कर्णाली गरिव भएको कुरा, नुन खान नपाएका जुम्लीहरुको कथा लेखेका थिए । यो राज्यले गरेको जनताको पीडा लेखेर सबै नागरिकसामु पु¥याउने मात्रै गर्नुभएको थियो । उसले के अपराध नै गरेको थियो । उसले मानिसको हत्या गरेको थिएन । उसले राज्य भत्काएको थिएन । राज्य विखण्डन पार्ने यात्रामा लागेको थिएन केवल लेखे त इच्छुकले अभाव, गरिवहरुको कुरा । इच्छुकका सत्य आवाजलाई राज्यले संवोधन गर्न सक्नु पर्दछ । तर पनि राज्यले कालो चस्मा लगाएर हेर्दै सेनाको हत्या गर्ने कुचेष्टा गर्दै अन्तिम हत्या नै गरेको थियो । सेनको सत्य आवाजलाई सिंगो नेपाली जनताको आवाज मानेर सम्वोधन गरेको भए देश र राष्ट्र सम्बृद्धिको दिशामा अगाडि बढ्ने थियो । तर त्यसको विकल्पमा सेनको जीवन लिने दुशचत्रमा लाग्यो यो राज्य त्यसैले त भिमसेन थापाकोको ‘यो देश सत्यले सरापेको देश’ भन्न मलाई फेरी मन लाग्छ ।
कृष्ण सेनको भौतिक शरिर त मार्न सक्यो तर विचारलाई मार्न सकेन आज हामी त्यही विचारलाई पन्छाइरहेका छाँै, अर्थात हामीले कृष्ण सेनलाई जीवनको आदर्श मान्न तयार भएका छाँै । आदर्श, पथप्रदशक मानिरहेका छाँै जो सेनका विचार सत्य थिए । आस्था ढाल्न सकेनन् विचार मार्न सकेनन्, । कृष्ण सेनको बिचार जो हो विगतमा पनि नेपालीहरु, गास, बास, कपास, रोग, भोग र वेरोजगारले ग्रसित छन् भन्ने नै थियो । सामाजिक, साँस्कृतिक, आर्थिक, राजनीति, वर्गिय, जातीय, लिङ्गीय रुपमा उत्पीडनबाट नेपाली जनताहरु मुक्त हुनुपर्दछ । भएका छैनन् । वर्तमानमा पनि कृष्ण सेनले उठाएका विषय तथा मुद्दाहरु अझै पूरा भएको छैन । यो विषय आगामी दिनमा पनि पूरा हुनका लागि धेरै कसरत गर्नुपर्दछ ।
हामी आज कृष्ण सेन लगायत हजारौँ शहीदहरुको बलिदानमा बाँचिरहेका छाँै । आज हामी खुशी भइरहेका छौँ । यो हाम्रो खुशी तिनै शहीदहरुको वलिदानले सम्भव भएको हो । हामी जहाँ छौँ जे गरिरहेका छाँै । शहीदको सपना पूरा लाग्नुपर्दछ । शहीदको वलिदानले नै हामी वर्तमानको घडीसम्म नेपाली भनेर बाँच्न पाएका छाँै । यदी तिनै महान शहीदहरुले बलिदान नगरेकोभए हामी यो सुखद समयमा आउन सक्ने थिएनाँै । म १४ औँ कृष्ण सेन ‘इच्छुक’ दिवसको अबरमा जनपक्षीय पत्रकार एवं हाम्रा आदर्शपात्र आदणीय कलमी सेनानी कृष्ण सेन ‘इच्छुक’ लगायत देश परिवर्तनको यात्रामा आफ्नो जीवन आहुती दिनुहुने तमाम महान शहीदहरुलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै जसले आफ्नो अंङ्गहरु गुमाई घाइते, अपाङ्ग हुनुभएको छ, बन्दी, बेपत्ता, बलात्कृत हुनुभएको छ उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । नेपाली पत्रकारितामा कृष्ण सेन ‘इच्छुक’ को अझै आवश्यता रहेको छ । पत्रकारिता पेशा दिन दिनै दयनीय बन्दै गइरहेको छ । यसमा पत्रकारितामा लागेका मानिसहरु थप जनपक्षीय बन्न सक्नु पर्दछ । केही राज्यका कारणले पनि भइरहेका छन् । संक्रमणकालीन समयलाई स्थायित्व दिन सकिरहेका छैनन् । हामीले आफ्नो पेशालाई मर्यादित बनाउनको हामी आफै जिम्मेवार बन्नुपर्दछ । आज नेपाली पत्रकारिता सकरात्मक भन्दा नकरात्मकता विषयलाई बढी प्राथमिकता दिनु, आवाज विहीनको आवाज भन्दा बोलवालहरुको मिडिया बनाउनु, सञ्चारकर्मीको सामाचार लेख्ने भन्दा विभिन्न सरकारी तथा गैर सरकारी क्षेत्रमा बढी व्यस्त रहनु लगायतका रहेका छन् । यो एउटा समीक्षाको विषय हो । त्यस्तै मिडियाहरु पनि सामाजिक हितका लागि भन्दा पार्टी, समूह, कार्यालय, व्यक्ति लगायतको सञ्चार माध्यम सञ्चालन गर्नु, मिडियालाई मिडियाका रुपमा भन्दा पनि प्रचारकर्ताको रुपमा अगाडि बढ्नु लगायतका हुन् । मिडियाहरु पनि घटनाको सत्य कुरा एकातिर हुदाँ हुदँै पनि आफ्नो राजनीतिक दर्शनको आधारमा विभाजित हुने । राजनीतिक दर्शणका आधारमा विभाजित हुने एउटा सन्दर्भ होला तर हाम्रो पेशालाई मर्यादित बनाउन जरुरी छ । हाम्रो पत्रकारिता पेशामा जसरी कुकुरले मानिस तोकेको भन्दा मानिसले कुकुरलाई तोकेमा मात्रै समाचार बन्दछ भन्ने परम्परागत मान्यताबाट फड्को मारि अगाडि बढ्नुपर्दछ ।
आज कृष्ण सेन इच्छुकको हत्या भएको १४ वर्ष पूरा भएको छ । नेपालमा १४ पूरा हुँदा सम्म कृष्ण सेनको हत्यामा संलग्नलाई कुनै सजाय छैन । अझै सजायभन्दा घटनाको बारेमा कुनै छानविनै छैन । नेपालको द्वन्द्व पनि मेल मिलापको मार्गमा अगाडि बढेको करिव एक दशक पुगको छ । यो लामो समयसम्म पनि सक्रमणकालीन विषयको अन्त्य हुन सकेको छैन । बल्ल सत्य निरुपन तथा मेल मिलाप आयोग गठन भएको छ । तर, यो राज्यले कृष्ण सेनले उठाएका विषयलाई सम्वोधन गर्दै न्याय, स्वतन्त्रताको देश निर्माण गर्नुपर्दछ । कृष्ण सेनका हत्यामा संलग्नलाई पनि कारवाही गर्नुपर्दछ । यो कुरा आम मिडियाले उठाउन जरुरी छ । नेपाली सञ्चार, साहित्य एवं राजनीति क्षेत्रले कृष्ण सेनको जीवनबाट सिक्नु पर्ने धेरै छ । जहिले पनि समाचार लेख्दा वा साहित्य सृजना गर्दा होस् वा राजनीति गर्दा हामीले सधै सर्वहारा जनता, आवाज विहीन जनता, श्रमिक जनतालाई केन्द्रमा राखेर गर्नुपर्दछ । आज देशमा संक्रमण बढेको छ, भ्रष्टचार, राजनीतिक अस्थिरता मौलाएको छ । यसको विरुद्धमा एक भएर सामाना गर्नुपर्दछ । हामीले आफ्ना लागि होइन समाजिक सेवा अरुका लागि हो । अरुका लागि गर्नुपर्दछ । आफ्ना लागि गरिदैछ । आज यो नेपाली समाजले दुरदशा झेल्नु परिहेको छ जो नेपालमा आफ्ना लागि गर्ने धेरै छन् तर अरुका लागि गर्नेहरु कम छन् । हामी सबै अब नेपाली सञ्चारक्षेत्र, साहित्य क्षेत्र, अनि राजनीति क्षेत्रबाट हामीले सबैले कहिले पनि आफ्नो सुख सुविधानका लागि होइन, आफ्नो पदका लागि होइन, आफू ठालु बनेर होइन अव हामी नेपाली जनताको सेवक जसरी सेन बनेका थिए। सेन हाल पनि हाम्रो आदर्श पात्र बन्नुभएको छ । हामीले पनि सिक्न जरुरी र अनिवार्य छ । होइन भने हामी आफू त विग्रीन्छाँै विग्रीन्छौँ तर पनि हाम्रो भावि सन्तानको जीवन पनि अन्धकारमय बनाउनेछौँ । त्यसैले सेन जस्तै सादा जीवन उच्च विचारको जीवन जिएर सधै गरिव, निमुखा जनताको सेवा गर्न सिकौँ । तव मात्रै हामीले सेनको कुरा पुकारेको वाँचा पुरा गर्दछौँ । यो नेपाली समाजले मागि सकेको छ । यसमा हामी सबै जिम्मेवार व्यक्तिहरुले बुझ्नु पर्दछ ।
आज कृष्ण सेन हामी सबै नेपाल र नेपालीका साझा बनेका छन् । एउटा विचार समूहको मात्रै भन्दा पनि सिंगो राष्ट्र र जनताले सम्मान गर्ने भएको छ । यी प्रतिभाको धनी कृष्ण सेन ‘इच्छुक’ लाई राज्यले वेलैमा चिन्न सकेन । तर, पनि हाल कृष्ण सेन इच्छुक प्रतिष्ठान गठन गरि राष्ट्रिय शहीद मानेको छ । हामीले उहाँबाट जीवनभरी सर्वहारा जनता, भोका, नाङ्गा निमूखा, गरिव, असाय, अशक्त, श्रमजिवी, मजदुर वर्गको जीवनभरी कलमको माध्यमबाट पनि सेवा गर्न हामीले सिक्नै पर्दछ । उहाँ लगायत सम्पूर्ण सहिदहरुको सपना पूरा गर्नका लागि हामी सबै सहकार्यबाट अगाडि बढेर नेपाल र नेपालीको जीवनको काचुली फेर्नुपर्दछ ।
(मानसिङ विककाे फेसबुकबाट साभार )

0 comments:
Post a Comment