जीवन डाँगी
रोल्पा । रोल्पा भाबाङ गाबिस १ का ५९ बर्षका अमर बहादुर बुढा मगरले मौरी पाल्न सुरु गरेको ६ बर्ष भयो ।
६ वर्ष पहिले २ वटा परम्परागत काठका घारबाट मौरी पाल्न सुरु गरेका उनले अहिले ११ वटा घारमा मौरी पालेका छन् । मौरी पालनलाई व्यवसायीक र आधुनिक तरिकाले पाल्न आधुनिक घार लगेपनि त्यसमा मौरी नबसेपछि काठकै घारबाट नै उनले मौरी पालन व्यवसायलाई वर्षेनी बृद्धि गर्दै गईरहेका छन् ।
मौरी पालन गर्नु भन्दा पहिले घरको दैनिक गुजारा गर्न धौ–धौ पर्ने अमर बहादुर मौरी पाल्न सुरु गरे पछि भने मह बेचेरै घर खर्च टार्दै आएको अनुभव सुनाउछन् । ‘२ छोरी, श्रीमती र म गरी ४ जनाको नुन, तेल र अरु खर्च मौरीले नै जुटाईदिएको छ’ अमर सुनाउछन् ।
जवानी छदा सम्म आफ्नो श्रम भारतका विभिन्न ठाउँमा ज्यामी गरेरै फालेको स्मरण गर्दै उनले पहिले नै मौरीपालनलाई व्यवसायीक रुपले गरेको भए अहिले जीवनले अर्कै मोड लिने भन्दै पछुतो व्यक्त गरे । मौरीपालन पेशा झन्झटिलो नभएको र आम्दानी पनि राम्रै हुने भएकाले यो ब्यबसाय प्रति आफु थप आर्कषित भएको उनी बताउछन् ।

आफ्नै खेतबारी र जंगलमा प्रशस्तै पाईने काठबाटै मौरीको घार तयार हुने र मौरीलाई पनि किन्न नपर्ने हुनाले यस व्यवसायलाई राम्रो सँग चिन्न सके युवा पुस्ताहरुले समेत विदेश जान नपर्ने गरी यहि मनग्य आम्दानी लिन सक्ने अमर दाबी गर्छन् । साथै मौरीपालनलाई पेशाकै रुपमा सञ्चालन गर्न नेपाल सरकारले केहि आकर्षक अनुदान, तालिम र अनुगमन समेत व्यवस्था गरिदिए यसमा युवा पुस्ता थप आर्कषित हुने उनको सुझाव छ ।
राम्रो खालको मौरी भए एउटा घारबाटै दुई धार्नी मह निकाल्न सकिने भन्द उनले मौसमले राम्रो साथ दिए मौरी बर्षमा तिन पटक नदिए वर्षमा अनिवार्य २ पटक निकाल्न सकिने बताए । ११ वटा घारबाट उनले अहिले कम्तिमा बार्षिक ५० हजार बढि आम्दानी लिईरहेको समेत जानकारी दिए ।

मौरीको भेर फाट्ने ,मौरी भाग्ने समय बिशेष गरी फागुन ,चैत , बैशाख तथा असोज ,कात्तिकमा भएकाले त्यस समयमा मौरीको बढि हेरचाह गर्नुपर्ने भन्दै सुरुमा यो पेशाले सफलता पाउदैन कि भन्ने चिन्ता लागे पनि अहिले आएर आफु मौरी पालनबाट सन्तुष्ट भएको साथै यसलाई अझै बढाउदै लैजाने योजना भएको उनले सुनाए । सो गाउँमा अमरसँगै अन्य ६/७ घरपरिवारले पनि मौरी पालन गर्दै आएका छन् ।
गाउँमा पालिएको मौरीलाई अहिले सम्म रोग लाग्ने , मर्ने समस्या नआएकाले पनि यसमा लाग्न थप प्रेरणा मिलिरहेको बताउने अमरबहादुर भन्छन् ‘ लगानी किसानले गरेपनि यस बारे कृषकलाई राज्यले गाउँमै पुगेर व्यवहारिक तालिम दिन जरुरी छ ।’
0 comments:
Post a Comment